काठमाडौ\राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले संसदमा बजेट माथिको छलफललाई सार्थक र परिणामूखी बनाउनु पर्नेमा जोड दिएका छन् ।
सोमबार राष्ट्रिय सभामा मन्त्रालयगत बजेट माथिको छलफलमा भाग लिने क्रममा उनले बजेट माथिको छलफल मन्त्री र प्रधानमन्त्रीको आलोचना गर्ने समय मात्र जस्तो बनेको भन्दै असन्तुष्टि जनाए । उनले यो क्रम रोक्न र छलफललाई परिणामूखी बनाउन खाँचो रहेको उल्लेख गरे ।
सत्ता पक्षीय संसदीय दलका नेता समेत रहेका नेता दाहालले बजेट पेश भए पछि हुने छलफललाई बजेट माथि सांसदको धारणा, मन्तव्य जे भने पनि आलोचना गर्ने मात्र नभई उपलव्धिमूलक बनाउनु पर्नेमा जोड दिनु दिए । तर सरकारले पनि बजेट माथि सांसदहरुले राखेका धारणालाई गम्भिर रुपमा लिनु पर्ने बताए । बजेट माथि सांसदहरुले राखेका धारणा व्यर्थ हुन्छन् भने बरु कानूनै बनाएर सरकारले बजेट बनाउने र अर्थमन्त्रालयले जारी गर्ने व्यवस्था गरे पनि हुने उनको भनाई थियो । बजेट माथिको छलफललाई उपलव्धिमूलक बनाउन र सांसदहरुका सुझाव लिने प्रकृया बलियो बनाउनु पर्ने भन्दै उनले सो टिप्पणी गरेका थिए ।
बजेट निर्माण प्रकृयामा सांसदहरुलाई संलग्न गराउने कि नगराउने भन्ने विषय तर्फ पनि छलफल गरिन जरुरी रहेको उनको भनाई थियो । बजेटलाई समानुपातिक रुपमा वितरण गर्न योजना तर्जुमा र छलफल प्रकृयालाई प्रभावकारी बनाउन उनले सुझाव समेत दिए । बजेट तथा योजना तर्जुमा प्रकृयालाई कार्यसुची अनुसार प्रभावकारी र सहभागीतामूलक बनाउनु पर्ने भन्दै मन्त्रीहरुका क्षेत्रमा मात्र योजना र बजेट बढि बिनियोजन भयो भन्ने गुनासो अन्त्य गरिनु पर्नेमा उनको जोड थियो । परम्परागत भन्दा बैज्ञानिकविधि अपनाईनु पर्ने भन्दै नेता दाहालले बजेट माथिको छलफललाई अर्थहिन हुनबाट जोगाउनु पर्ने नेता दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्