काठमाडौ, सभापतिको कार्यशैली प्रति प्रश्न उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल कार्वाहीमा परेका छन् । पार्टीले उनलाई दुवै पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।
बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।
साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । देश दौडाहा गरेर कार्यकर्ताको धारणा सहित तयार पारेको प्रतिवेदनकै कारण ढकाल पार्टी भित्र आलोचित बनेका थिए । उनले यहि कार्यशैली रहे पार्टी झन कमजोर हुने भन्दै सुुझाव दिएका थिए । सोहि प्रतिवेदनका कारण ढकाल आलोचित बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्