काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसै गरि सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ । पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।
भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्