Ads

भारत र बंगलादेश लगायतका देशहरुमा विद्युत् बिक्रीको बाटो खुल्ला


काठमाडौँ — उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुमा विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् । मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढसरहेको बताएकी हुन् ।

मन्त्री भुसालले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत् क्रमश: बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘उर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो । तर, हामीले बढी हुँदा पनि सप्लाई गर्न सकेका थिएनौं । अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत् खरिद गर्ने सहमति गरेर सप्लाई सुरु भइसकेको छ । त्यसैले विद्युत् व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका उर्जाहरुलाई विद्युत्‌ले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रधान देश भएकोले सतह सिंचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिंचाइ गरेर खेतीयोग्य जमीनमा सिंचाइ पुर्‍याउने बताइन् । मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत् दिन सक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् ।

नेपालमा सञ्चालनमा रहेका यातयातका साधनहरुलाई विद्युतीकरण गर्ने कुरा अर्को महत्त्वपूर्ण कुरा भएको उनले बताइन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री भुषालले यस्तो बताएको बिभिन्न सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू