Ads

परीक्षाबाट बञ्चित विद्यार्थीद्धारा तालाबन्दी


महोत्तरी । प्रदेश २ को महोत्तरी जलेश्वरस्थित रामानन्दन विश्वेश्वर महेन्द्र(राविम) क्याम्पसको लापरवाहीले कक्षा १२ को ग्रेडबृद्धि परीक्षा दिनबाट आफूहरु बंचित भएको भन्दै विद्यार्थीहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।
क्याम्पसले समयमै विद्यार्थीद्वारा भरिएको फारम राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा नबुझाएको कारण नेहाकुमारी राउत, अम्बिका महरासहित छ जना बिद्यार्थी अंग्रेजी विषयको परीक्षाबाट बंचित भएका हुन ।
क्याम्पसमा प्रवेश पत्र लिन जाँदा फारम क्याम्पसको परीक्षा शाखामै थन्काइएको भेटिएपछि विद्यार्थीहरु आन्दोलित भई तालाबन्दी गरेका हुन् ।
परीक्षा शाखाका प्रमुख श्रीराम मिश्रले कक्षा ११ र १२ को परीक्षासँग सम्बिन्धित क्रियाकलाप सहायक क्याम्पस प्रमुख आलम राईन र क्याम्पस प्रमुख बलिराम पाण्डेले हेर्ने गरेको जिकिर गरेका छन् । आफू स्नातक र स्नाकोत्तर तहसँग सम्बन्धित क्रियाकलापबारे मात्र जानकार रहेको उनले बताए ।
कक्षा १२ का विद्यार्थीहरूले परीक्षा शुल्क र फारम समयमै बुझाएपनि राष्ट्रिय परीक्षा बोर्डसम्म पु¥याउन नसक्नुको कारणबारे परीक्षा शाखाले आफूलाई कुनै जानकारी गराएको सहायक क्याम्पस प्रमुख राईनले दाबी गरेका छन् ।
क्याम्पस प्रमुख पाण्डेले आफूलाई आज मात्रै यो विषयबारे जानकारी भएको बताए । उनले यस सम्वन्धमा परीक्षा शाखाका कर्मचारीलाई तीनदिनभित्र स्पष्टिकरण पेश गर्न पत्र काँटेका छन् ।
क्याम्पसले गर्ने लापरवाहीका कारण विद्यार्थीहरूको मार्कसिट, माइग्रेशनलगायतका कागजातहरू समेत हराउने गरेको, परीक्षा शुल्क रसिद बिना नगद बुझाउनु परेको जस्ता समस्याहरु भएको एक विद्यार्थी सुरज महराले बताए ।
जलेश्वरको राविम क्याम्पसमा अधिकांश विपन्न र दलित समूदायका विद्यार्थी अध्ययनरत छन् । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष देबेन्द्र चौधरीले यस प्रकरणमा दोषी साबित हुने कर्मचारी एवं शिक्षकलाई नियमअनुसार कारबाही गरिने आश्वासन विद्यार्थी तथा उनका अभिभावकहरूलाई दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू