Ads

 प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी


काठमाडौं, कात्तिक २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उहाँले उल्लेख गर्नुभयो ।

निर्देशक लामिछानेकाअनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।

जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्चुलाको लिम्पियाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ । (राससको यो समाचार बिभिन्न सञ्चारमाध्ययमहरुमा प्रकाशित छ । )

यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु  राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय जनगणनाका अवसरमा उहाँले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्नुभएको छ । देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणनाअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म प्रत्येक घरघरमा जनगणना गर्नका लागि गणक आउँदै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहनुभएका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गर्नुभएको छ ।

Ads

सम्बन्धित पोष्टहरू