Ads

माओवादी नेता बर्षमानलाई थप उपचारका लागि चीनको लगियो


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।
जटिल प्रकृतिको जण्डिस भएकाले विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले बताए ।

पुनसंग पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीन गएका छन् । पुनको आजै मध्यान्नबाट अस्पतालमा उपचार सुरु हुने चापागाँईले बताए।

समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले समेत अव यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए । काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ ।

जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाँईले बताएका छन् । कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै पहल गरेका थिए । बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गंभिर भएका बेला नेता पुनको बैंककको समितिभेज अस्पतालमा अस्पतालमा उपचार भएको थियो । उपचार पछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जण्डिस दोहोरिएको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू