काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा पेश गरेका छन् । ओलीले ‘सहमतिका लागि’ भन्दै पदाधिकारीका नाम पेश गरेका छन् ।
ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो । अध्यक्षमा केपी शर्मा ओली , बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल ,
बाँकी ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल , विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ ।
त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरे ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।त्यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल रहेका छन् ।
ओलीले यी नामहरु हलबाट पारित गर्नका लागि भने रुलिङ गरेनन् । बरु उनले प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि जान आग्रह गरे । ‘यसरी १९ जना पदाधिकारीहरुमा सहमति जनाउनका निम्ति म कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘पदाधिकारीमा यी नामअनुसार नै साथीहरुले मनोनयन दर्ता गर्न पनि आग्रह गर्न चाहन्छु । अब कमरेडहरु निर्वाचन आयोगको नजिकै कार्यालयमा मनोनयन दर्ता गर्न, प्रस्तुत गर्नका लागि म आग्रह गर्न चाहन्छु । आजको यो सेसन यहीँ समाप्त हुन्छ ।’
केपी ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि भीम रावल र घनश्याम भुसाललाई भने उनले आफ्नो टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् ।
पदाधिकारीमा यी नामहरु सकेसम्म मिलाएर घोषणा गरिएको ओलीले बताए । उनले भने, ‘मैले यी नामहरु अध्यक्ष मण्डलको तर्फबाट प्रस्तुत गरिरहेको छु । हाम्रोवीचमा सल्लाह पनि भो ।’
प्रतिक्रिया दिनुहोस्