काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले प्रयोग गरेको शब्दप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ती जनाएका छन् ।
लिङ्देन बोलेपछि एक हिसावले शाब्दिक रुपमा लफडा नै भयो ।
लिङ्देनले जनताले नेतालाई ‘चोर’ भन्न थालेको बताएका थिए । त्यसपछि आफ्नो मन्तव्यका क्रममा नेकपा एमालेका अध्यक्ष ओलीले यसप्रति आपत्ती जनाए । उनले अध्यक्ष जन्मदै श्रेष्ठता कायम हुनेगरी जन्मने र नागरिक सर्वोच्चताको खिल्लि उडाउने कुरा कसैका लागि पनि राम्रो नभएको बताए ।
ओलीको प्रतिकृया थियो- … हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । भर्खर भर्खरको बाच्छो हिड्न जान्दैन अलि बढि कुद्छ क्या। अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।
यसैगरी माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिङ्देनले भनेजस्तो जनतामा नेताप्रति नकारात्मक धारणा बनिनसकेको दावी गरे । नेताप्रति नकारात्मक दृष्टिकोणको विकास गराउन जे भनेपनि नेपालको राजनीतिक परिवर्तनमा राजनीतिक दल र नेताको भूमिकाका बारेमा नागरिक जानकार रहेको भन्दै प्रचण्डले लिङ्देनले भनेजस्तो जनतामा नेताप्रति असन्तुष्टि रहेपनि चोरकै उपमा दिने अवस्था नरहेको दावी गरे ।
के भनेका थिए लिङ्देनले ?
“गाउँतिर नेता गयो भने चौतारीमा नेता आउनुभएको छ भनेर गाउँलेलाई खबर हुन्छ । तर, जनताले कुन नेता भनेर सम्झदैनन् । कुन चोर आएछ भन्छन्,” लिङ्देनले भने, “हाम्रा राष्ट्रिय पार्टीहरूका लागि यो महिना महाधिवेशनको महिना भएको छ । यो महिना नेताको छवी सुधार होस् ।”
उनले देश लथालिङ् अवस्थामा पुगेको भन्दै राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले शाख गुमाएको बताए ।
“सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन,” लिङ्देनले भने, “यो सबै सुधार गर्नुपर्ने राजनीतिक दलले हो । दलको अवस्था पनि राम्रो छैन। दल सुधार्ने नेताले हो । जनताले त्यस्तो नजरले हेर्न थालिसके ।”
प्रतिक्रिया दिनुहोस्