Ads

२७ सय भन्दा बढी मत ल्याएर कांग्रेस सभापतिमा देउवा विजयी,३३ मत बदर


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । देउवा भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पराजित गरेका छन् ।
बुधबार बिहान सम्पन्न मतगणनाबाट देउवाले २७ सय २४ मत पाएका छन् । उनले कोइरालालाई ९०७ मतान्तरका साथ विजयी भएका हुन् । निर्वाचन समितिले देउवा विजयी घोषणा भने गरेको छैन ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । राति सवा ११ बजेदेखि मतगणना सुरु भएको थियो ।

सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४५७४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । कांग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७२४ मत र कोइरालाले १८१७ मत प्राप्त गरे । यस्तै ३३ मत बदर भयो ।

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि थिए । उनीहरु कम मत ल्याएर बाहिरिएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दुईबीचको प्रतिस्पर्धामा बाहिरिएका तीनै जना उम्मेदवारले देउवालाई सघाएका थिए । पहिलो चरणको निर्वाचानमा देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू