काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेनिन भन्दा बाठो बनेर सेयर बजारका बारेमा बोलेको आरोप लगाएका छन् । प्रचण्डले सेयर बजारको बारेमा बोलेर नयाँ थेसिस बनाएको बताएका छन् । एमालेमा मनोनित केन्द्रीय सदस्यहरूलाई बुधबार शपथग्रहण कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।
ओलीले भने, ‘लेनिनले पुँजीवादको उच्चतम रुप साम्राज्यवाद भनेका थिए । प्रचण्डले साम्रज्यवादको विकसित रुप सेयर बजार हो भने।’
प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजार धराशायी भएको ओलीले आरोप लगाए । उनले भने ‘ प्रचण्डले सेयर बजारले जनताको जीवनमा कति असर पर्छ ? लगानीकर्ताको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति कस्तो हुन्छ ? केही पनि मतलब नगरी बोले।’
ओलीले प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा नदिएका कारण यस्तो बोलेको बताए ।
ओलीले भने ‘प्रचण्डले सेयर लगानीकर्तालाई चन्दा नदिए ध्वस्त बनाइदिन्छु भनेर भाषण ठोक्दिए। नरहे बाँस, नरहे बाँसुरी । हामीले यस्तो बोलेको भए सडक तात्थ्यो। माइतीघरले पुग्दैन थियो। सञ्चारमाध्यमा आगो बल्थ्यो। प्रचण्डले बोल्दा सब चुपचाप भए। कोही बोल्दैनन्।’
प्रतिक्रिया दिनुहोस्