काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन कुनैपनि हालतमा टुट्न नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए ।
प्रचण्डले केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका षड्यन्त्र गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।
उनले भने ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न चालबाजी गरेर टुटाउन खोज्नुभएको छ, त्यो सफल हुन दिन्नौ । कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको छ ।’
गठबन्धनले प्रतिगमनका विरुद्ध लड्न शक्ति मिलेको बताए ।
प्रधानमन्त्री देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गरेको प्रचण्डको भनाइ छ । उनले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्