काठमाडौं । अन्तरजातीय विवाहका कारण बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि सकुशल भेटिएका छन् । चन्द्रे कामीले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । युवक दलीत र युवती ठकुरीबीच भएको विवाका कारणले माइति पक्षले युवकलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप युवक पक्षले लगाएका थिए ।
सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तर जातीय विवाह गरेका थिए । उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कुटपिट गरेर बेपत्ता पारेको आरोप युवकको परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।
अन्तरजातीय विवाह गरेपछि युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले खोजी कार्य तीव्र पारेको थियो।
प्रहरीले खोज्नेक्रममा बुधबार बिहान खार्पुनाथ प्रहरी चौकीले चन्द्रेलाई खार्पुनाथ गाउँपालिका–५ याङ्चुबजारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
प्रहरीले युवती र उनका बुवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्