पुस ८, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो ।
कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको राससलाई जानकारी दिनुभयो । कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत क्लस्टरअनुसारको मतगणना सम्पन्न गरिसकेको छ ।
बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना अन्तिम चरणमा पुगेकाले आजै सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले जानकारी दिनुभयो । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत निर्वाचन समितिले गरेको छ ।
कांग्रेसले १४औँ महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कांग्रेसको १४औँ महाधिवेशनबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्