काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्नुभएको हो ।
मुख्यसचिव पौडेलले भन्नुभयो, “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उहाँका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ ।
शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्