Ads

माओवादी केन्द्र आठौं महाधिवेशनबाट बहुपदीय मोडेलमा जाने भएको छ


काठमाडौं । नेकपा माओवादी केन्द्र पनि आठौं महाधिवेशनबाट बहुपदीय मोडेलमा जाने भएको छ । अध्यक्ष,वरिष्ठ उपाध्यक्ष ,महासचिवसहित १५ सदस्यीय पदाधिकारी बनाउने भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।

बैठकमा अध्यक्ष एक ,वरिष्ठ उपाध्यक्ष एक, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। बैठकपछि प्रवक्ता महराले बैठकले १५ जना पदाधिकारी रहने प्रस्ताव गरेको र यो सबै टुंगो भने महाधिवेशनले नै लगाउने बताए ।

उनकाअनुसार बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव बैठकमा पेश भएको छ तर छलफल र बहस सबै महाधिवेशनमा नै हुनेछ । उनले सो डकुमेन्टको मुख्य–मुख्य विशेषता प्रचण्डले बैठकमा राखेको र महाधिवेशनमा प्रतिवेदन वितरण हुने बताइएको छ ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।

‘आज हामीले गर्ने भनिएको राष्ट्रिय सम्मेलन अब आठौं राष्ट्रिय महाधिवेशन हुन्छ’, महराले केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुलाई भने, ‘अध्यक्षले डकुमेन्ट प्रस्तुत गर्नुभयो । त्यससम्बन्धी टिकाटिप्पणी छलफल महाधिवेशन मै गर्छौँ ।’
२१ औं शताब्दीको समाजवादः हाम्रो बाटो शीर्षकमा प्रचण्डको राजनीतिक प्रतिवेदन तयार भएको उनले जानकारी दिए ।

 

Ads

सम्बन्धित पोष्टहरू