Ads

माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार, चिनियाँ उपमन्त्रीसँग भेटवार्ता


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग भेटवार्ता गरेका हुन् । उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्तामा पूर्वसभामुख तथा माओवादी केन्द्र केन्द्रीय सदस्य ओनसरी घर्ती पनि सहभागि भएकी थिईन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको बताइएको छ।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिएको । अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युष्टि पार्टी र नेकपा माओवादी केन्द्र सवैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने भेटमा छलफल भएको बताइएको छ । चिनियाँ उपमन्त्रीले नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा चासो पुन निकट स्रोतले बताए ।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठवन्धन गरेर आगामी चुनावमा गठबन्धन गरेर जाने बताएका स्रोतले बताए ।

पुनसंग चिनियाँ पक्षले एमसीसी परियोजनाबारेको जिज्ञासाको राखेका बताइएको छ । एमसीसीबारे नेपालमा बहस चलिरहेको र गठवन्धनले समेत अध्ययनका लागि कार्यदल बनाएको प्रशंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुनेगरि मित्र राष्ट्रहरुको सहयोग स्वीकार गर्ने नेपालको नीति अनुरुप सरकार र गठवन्धन अघि बढ्ने बताएको स्रोतले बताए ।

बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्धिपक्षीय भेटवार्तामा जुटेका हुन् ।

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उदघाटन अघि नै नेपाल आउन चाहेका थिए । तर त्यो संभव नभएपछि उतै बसेका छन् ।
पुन अहिले पनि अध्यक्ष प्रचण्डसँग दैनिक सम्पर्कमा रहेका छन् भने महाधिवेशन प्रतिनिधि र अन्य नेताहरुसँग पनि छलफल गरिरहेका छन् । चिकित्सकको सल्लाह पछि अब छिटै नेपाल फर्कने बताइएको छ ।

जण्डिस दोहोरिएपछि उपचारको लागि पुन असोज १३ गते बैंकक पुगेका थिए । बैककमा सन्चो नभएपछि मंसिर १० गते चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार भईरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू