काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी पनि समावेशी बनाउने तयारी गरेको छ ।
केन्द्रीय समितिमा समावेशी, समानुपातिक व्यवस्था अनिवार्य गरेको माओवादी केन्द्रले अध्यक्षसहितको १५ जनाको पदाधिकारी पनि समावेशी बनाउने भएको छ ।
त्यसका लागि जारी आठौं महाधिवेशनबाट माओवादीले पार्टी विधान परिमार्जन गर्न लागेको छ।
माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उप–महासचिव, ३ सचिव र १ कोषाध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ।
१५ पदाधिकारी समावेशी बनाउन मंगलबार बसेको स्थायी कमिटी बैठकले निर्देशन दिएको बताइएको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार अब विधानमै समावेशी पदाधिकारीको अनिवार्य व्यवस्था गरिनेछ।
ती स्थायी कमिटी सदस्यले भने ‘मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीको विधानमा १५ पदाधिकारीलाई पनि समावेशी बनाउने निर्णय गरेको छ ।’
विधानमा नै समावेशी व्यवस्था राख्नको लागि पाँच सदस्यीय विधान संशोधन समिति बनाइएको छ।
जसमा देव गुरुङको नेतृत्वमा विष्णुपुकार श्रेष्ठ र शक्ति बस्नेत, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल छन् ।
प्रतिक्रिया दिनुहोस्