काठमाडौं । देशभरी भएको बर्षाका कारण काठमाडौंसहित देशका धेरै स्थानमा बिहानै देखि हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ। चन्द्रागिरीमा हिमपात भएको छ ।
महाशाखाले आज (बुधबार) बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने छ ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसैका कारण देशभर मौसम बदली तथा वर्षा र हिमपात भइरहेको हो।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ स् देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
प्रतिक्रिया दिनुहोस्