काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्र अन्तर्रगत अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको दोस्रो दिनको रिपोर्टिङ पेश गर्ने क्रम सुरु भएको छ । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो । पहिलो दिन ११ टोली नेताले आफ्नो रिपोर्टिङ पेश गरेका थिए । यस्तै बिहीबार बाँकी १३ टोली नेताले आफ्नो रिपोर्टिङ राख्ने छन् ।
बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा समन्वय समितिको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो रिपोर्ट पेश गरेका छन् । अन्य टोली नेताले पनि क्रमशः रिपोर्ट पेश गर्नेछन् । प्रचण्डले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको थियो । छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गरेर सकेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्