काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा समूहगत छलफल पछिको रिपोर्टिङ सकिएको छ । रिपोर्टिङपछि राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र सुझावहरु समेट्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुने माओवादी स्रोतले बताएको छ ।
अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए । समूहगत छलफलमा उठेका विषयहरुको बारेमा छलफल गरेर त्यहि अनुसार राजनीतिक दस्तावेज र विधानलाइ परिमार्जन गरेर पास गर्न बैठक बसेको ती स्थायी कमिटी सदस्यले बताए ।
साथै, बैठकमा केन्द्रीय समितिमा लैजाने २९९ सदस्य नेताहरू चयनको विधिबारे समेत छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथिको छलफल बिहीबार सकिएको थियो । विधान र राजनीतिक प्रतिवेदन टुङ्ग्याएर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने छ ।
स्थायी समिति बैठकपछि बन्दसत्रमा प्रतिनिधिहरुले राखेका प्रश्नको जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्