Ads

७० वर्षपछि प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो,गोला प्रथाबाट पेशी


काठमाडौं । ७० बर्षको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक प्रधानन्यायधीशको पेशी तोक्ने अधिकार खोसिएको छ ।

२००८ सालमा स्थापना भएको सर्वोच्च अदालतमा पहिलो पटक मुद्दाहरुको पेसी गोलाप्रथाबाट तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमित भएर शसस्त्र प्रहरीको अस्पतालमा उपचाररत छन् ।

२९ औं प्रधानन्यायाधीशको रुपमा राणा कार्यरत रहेको समयमा अल्पकालीन अवधिका लागि बुधबार गोलाबाट पेसी तोकिएको हो।

सर्वोच्चमा कार्तिक देखि आन्दोलन भइरहेको छ । न्यायधीश र कानून व्यवसायीहरु प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरीरहेका छन् ।

आन्दोलनको चलिरहदा नै मंसिर २ गते फुलकोर्ट बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गरिएको थियो। उक्त नियमावलीमा रहेको प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था संशोधन गर्दै गोलाबाट तोकिने भनिएको थियो।

उक्त संशोधन राजपत्रमा प्रकाशित हुँदै आजदेखि लागू हुने सूचना जारी गरिएको थियो।
सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेसी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएकोमा स्वचालित पेसी व्यवस्थापनमा जानुपर्ने सुझाव विभिन्न अध्ययन समितिले दिएको थियो। तर, स्वचालित पेसी व्यवस्थापन प्रणालीमा जानुपूर्व संक्रमणकालीन प्रक्रियाका रुपमा गोलाप्रथा लागू गरिएको हो।

फुलकोर्टले नियमावली संशोधन गरि कानुन बनाएपछि पहिलो पटक प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएको छ।

 

११ इजलास गठन

सर्वोच्चमा गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन्। पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलोपटक ११ इजलास गठन भएको हो।

आजका ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। तीमध्ये २ वटा एकल इजलास छन्। न्यायाधीशहरु मिरा खड्का र कुमार चुडालको एकल इजलास रहेको छ।

आजका लागि दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकुमार कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ। त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, अनिता कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको हो।

प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गरेको थियो।

 

Ads

सम्बन्धित पोष्टहरू