Ads

किन दिए एन्फाका रेफ्रीले सामूहिक राजीनामा


शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाउने नौ जना फिफा रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् ।

एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको भन्दै रेफ्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री तथा फिफा असिस्टेन्ट रेफ्रीहरु नानीराम थापा, विक्रम चौधरी, किशन यादव, युनाल मल्ल, माधव खत्री र सहदेव श्रेष्ठ हुनुहुन्छ ।

रेफ्रीहरुले फिटनेश टेस्ट गर्ने भए लिग रोकेर फिटनेशका लागि समय दिनुपर्ने माग पनि राखेका छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरले तीन तीन महिनामा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ गरिनु पर्ने फिफाको निर्देशन अनुसार नै रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरिएको बताउनुभयो ।

‘रेफ्री कमिटीले यो कुरा बेलैमा बुझ्न आवश्यक छ । रेफ्रीको विषयमा प्रश्न उठ्न हुन्न भन्ने फुटबलको विश्वव्यापी मान्यता हो । उहाँहरुले नाम लेखेर राजीनामा पत्र बुझाउनु भएको छ । अब कसरी अगाडि बढ्न सकिन्छ हामी छलफल गरिरहेका छौँ,’ तुलाधरले भन्नुभयो ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारदेखि दशरथ रंगशालामा तेस्रो चरणको खेल सुरु हुँदैछ । रेफ्रीका कारण शुक्रबारको खेल नरोकिने जानकारी पनि तुलाधरले दिनुभयो । शुक्रबारको पहिलो खेलमा ललितपुरको फ्रेण्ड्स र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र विभागीय टोलीको एपीएफ क्लब भिड्नेछन् ।

Ads

सम्बन्धित पोष्टहरू