काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएका छन् । जसमा तीन वटा प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउपा पक्षले जित हासिल गरेको छ । दुई प्रदेशमा संस्थापन इतर पक्षले र एक प्रदेशमा कृष्ण सिटौला पक्षले विजय हासिल गरेको छ ।
देउवा पक्षले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व जित हासिल गरेको छ ।
संस्थापनइतर पक्षले २ प्रदेशको नेतृत्व जितेको छ । गण्डकी र लुम्बिनी पौडेल पक्षले जितेको छ भने एक नं. प्रदेशमा सिटौला पक्षले जित हासिल गरेका छन् ।
प्रदेश २ मा भने विवादका कारण प्रदेश अधिवेशन हुन सकेको छैन ।
१नं.प्रदेश अधिवेशनमा सिटौला पक्षका उम्मेदवार उद्धव थापाले सभापतिमा विजय हासिल गरेको छ ।
संस्थापनइतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे थापाका प्रतिस्पर्धी थिए । तर अन्तिममा घिमिरे २ मतले पराजित भए ।
वागमती प्रदेश सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भए । बाँनियाँले जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतको अन्तरले पराजित गरे ।
पहिलो चरणमा १ सय ९७ मत ल्याएका सिटौला पक्षका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई सहयोग गरेका थिए । प्रधानको सहयोगमा बाँनियाले जित हासिल गरेका छन् ।
गण्डकी प्रदेश कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको गृह प्रदेश हो । यहाँ यी दुबै नेता पक्षले नै प्रदेश सभापतिमा शुक्रराज शर्माले विजय हासिल गरे । संस्थापन पक्षका अर्जुन जोशी पराजित भए ।
लुम्विनी प्रदेशमा संस्थापनइतर पक्षका अमरसिंह पुन सपभातिमा विजयी भएका छन् । पूर्वराज्यमन्त्री पुन रोल्पा कांग्रेसका पूर्व सभापति समेत हुन् । उनले देउवा पक्षका भरत शाहलाई पराजित गरेका हुन् ।
कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजंग शाही सभापतिमा निर्वाचित भए । मोतीराज बलले सभापतिमा उम्मेदवारी दिएपनि ७ मत मात्रै ल्याए ।
्रसुदुरपश्चिम प्रदेश देउवाको आफ्नो गृह प्रदेश हो । उक्त प्रदेशमा उनको बाहुल्यता छ ।
प्रदेश सभापतिमा बलबहादुर बलायर विजयी भएका छन् । सभापतिसहित प्यानल नै संस्थापन पक्षले जितेको छ । उनीसंग नारायणदत्त मिश्र सभापतिमा प्रतिस्पर्धी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्