Ads

बिरक्तिएर बिदेसिएका महिलाहरुको बिशेष कथा


बुटवल — ससस्त्र द्वन्द्वका बेला सुराकीको आरोपमा २०६० माघमा पति गिरीप्रसादको घरमै गोली हानेर हत्या भएपछि बुटवल सेमलारकी जानकी अर्याल घिमिरेको सिन्दुर पुछियो । ६ महिने छोरी र डेढ वर्षे छोरा हुर्काउने, पढाउने जिम्मेवारी थियो । छोराछोरीलाई  बाबुआमाको जिम्मा लगाएर उनी घरेलु कामदारको रुपमा बहराइन गइन् ।

बहराइनमा १७ महिना काम गर्दा करिब ६ लाख रुपैयाँ कमाइन्, ऋण तिरिन् । केही रकम छोराछोरीको पढाइका लागि जम्मा गरिन् । १८ औं महिनामा उनी जेल परिन् । ‘बेखर्ची भएर अलपत्र परेकी पोखराकी एक महिलालाई नगद दिएर घर पठाएका थियौं । अरुलाई नगद दिनु त्यहाँको कानुनमा अपराध रहेछ । रकम दिने मसहित तीन जनालाई प्रहरीले समात्यो । १ महिना जेलमा बसाल्यो,’ जानकीले भनिन्, ‘नेपाल सरकारबाट उद्धार भएन । घर मालिकले टिकट काटेर पाकिस्तान हुँदै नेपाल पठाइदियो ।’

फर्केपछि उनले विदेश जाँदा महिलाले अपनाउनुपर्ने सतर्कताबारे सिकाउन थालिन् । यसले बोल्ने बानी पर्दै गयो । फास्टफुड र होटल व्यवस्थापन सिकेकी उनले फुर्सदमा दुबै कामबारे तालिम चलाउँछिन् । हाल उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । भन्छिन् ‘वैदेशिक रोजगारीमा गएपछि आर्थिक अवस्थामा सुधार आयो, आर्थिक अवस्था कमजोर भएको भए आत्मबल बढाएर घरबाहिर निस्कन र सामाजिक गतिविधिमा संलग्न हुनसक्ने नै थिइनँ ।’

तिलोत्तमा नगरपालिका ३, स्मृतिपथकी हरिकला मल्लले अन्तरजातीय बिहे गरिन् । दुई छोरा जन्मेपछि पतिले दोस्रो बिहे गरे । पतिको बेवास्थापछि छोरा हुर्काउन र पढाउन समस्या भयो । हरिकला नाबालक सन्तान छोडेर २०५८ सालमा साउदी अरब गइन् । ३० हजार रुपैयाँ खर्च गरेर भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा गएकी थिइन् । मासिक करिब २५ हजार रुपैयाँ कमाउँथिन् । ३ वर्षको कमाइबाट छोराछोरी पढाइन् । घडेरी जोडिन्, आफ्नै घर बनाइन् । नियमित आम्दानीका लागि ब्युटीपार्लर खोलिन् ।

हरिकलाको मन त्यतिमा थामिएन । अहिले झोला उद्योग संचालन गर्छिन् । त्यहाँ ढाकाका नयाँ नयाँ झोला उत्पादन र बिक्री हुन्छ । ‘यो सबै वैदेशिक रोजगारीको परिणाम हो । स्वदेशमा बसेर घरव्यवहार चलाउन नसक्ने धेरै महिलालाई वैदेशिक रोजगारीले दाम र पहिचान दिएको छ । काम गर्ने उर्जा दिएको छ,’ उनले भनिन्, ‘स्वदेशमै केही गर्न सक्ने महिला विदेश जानु हुँदैन । अवैध रुपमा जाने वैदेशिक रोजगारी पनि जोखिमपूर्ण छ । यसलाई रोक्नुपर्छ ।’

पौडेल आफ्नै व्यवसाय गर्ने र अरुलाई पनि रोजगारी दिने सपना देख्थिन् । वाणिज्य विषय पढ्ने र ज्ञान सीप सिकेर व्यवसाय थाल्ने योजना थियो । तर किशोरावस्थामै बिहे भयो । वाणिज्यको साटो सामाजिक मनोविज्ञानमा स्नातक गरिन् । पढाइ सकेलगत्तै बुटवलमा ‘करियर प्लानिङ, एजुकेशन नेटवर्क प्रालि’ खोलेर व्यवसायमा हात हालिन् । जहाँ विभिन्न कक्षा र भाषाको प्रशिक्षण दिने र विदेश पढ्नका लागि परामर्श दिने गरिन्थ्यो । व्यवसाय अघि बढ्न नसकेपछि विदेश जाने, पैसा कमाउने, सूचना प्रविधि पनि पढेर फर्कने योजना बनाइन् ।

२२ वर्षको उमेरमा तुल्साले दूधे बालिकालाई पतिको जिम्मामा छाडेर २०७२ वैशाखमा जापान गइन् । जापान जानका लागि उनले भाषा प्रशिक्षणसँगै सूचना प्रविधि पढेकी थिइन् । २०७७ फागुनमा उनी स्वदेश फर्किन् । अहिले आफूले स्थापना गरेको करियर प्लानिङ एजुकेशन नेटवर्क प्रालिलाई नयाँ ढंगबाट चलाउन थालेकी छन् । ‘जापानमा विषयगत सीप बाहेक कडा मेहनत, अनुशाशन र व्यवस्थापनबारे प्रयोगात्मक अभ्यास गर्न पाएँ,’ तुल्साले भनिन्, ‘त्यही अभ्यासलाई व्यवहारमा उतारेर काम थालेकी छु ।’

स्वदेशमा सहज अवसर नपाएका बेला केsही समय सीप सिक्न वा कमाउन विदेश जानु युवाको वाध्यता रहेको उनी बताउँछिन् । वैदेशिक रोजगारी महिलाका लागि सहज छैन । देश, समाज हुँदै परिवारको कानुनी, सामाजिक र पारिवारिक बन्देज छ । पाइला पाइलामा अंकुश र काम गर्ने अधिकारमाथि नियन्त्रण छ । सुरक्षित, व्यवस्थित र सहज व्यवस्थापन गर्नुको साटो सुरक्षाको नाममा महिलाको वैदेशिक रोजगारमाथि प्रतिबन्ध लगाइँदै आएको छ ।

वैदेशिक रोजगारीबाट फर्केकाको संस्था आप्रवासी महिला सरोकार केन्द्रमा देशका करिब ४० हजार महिला आवद्ध छन् । केन्द्रको तथ्यांकमा वैदेशिक रोजगारीबाट फर्केका करिब १२ हजार महिला अहिले सबल उद्यमी तथा व्यवसायी बनेका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गरी त्यसअनुसारको काम दिने नीति कागजमै सीमित छ । तीन तहकै सरकारले काम थालेका छैनन् । वैदेशिक रोजगारीबाट फर्केकालाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले गत वर्ष थालेको शून्य ब्याजदरमा अनुदानको १० करोड रुपैयाँ तीन जना महिलाले मात्रै पाएका छन् ।

उद्यम विकास कोषबाट अहिलेसम्म वैदेशिक रोजगारीबाट फर्केमा ३ जना महिलाले मात्रै रकम पाएका हुन् । संघीय सरकारले ३ वर्षअघि थालेको वैदेशिक रोजगारबाट फर्किएकालाई सहुलियत कर्जा पनि प्रदेशमा जम्मा १९ महिलाले पाएका छन् । गत असारसम्म ऋण लिन माग गरेका १८ हजार ७ सय ३४ मध्ये जम्मा १९ महिलाले अन्य शीर्षकमा ऋण पाएका छन् । उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा भन्छिन्, ‘विदेशको अनुभवपछि स्वदेशमा उद्यमव्यवसाय थाल्न चाहनेलाई तीन तहकै सरकारले सहज वातावरण बनाइदिनुपर्छ ।’

लुम्बिनी प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाहीले भने वैदेशिक रोजगारीबाट फर्केकाको स्पष्ट योजना र रकम सुनिश्चितताको ग्यारेन्टी नहुँदा सरकारी रकम भएपनि बैंकहरु लगानी गर्न हिचकिच्याएको बताउँछन् । ‘सरकारका प्रतिनिधि, बैंक र वैदेशिक रोजगारीबाट फर्केका युवा बसेर छिट्टै सरकारी अनुदान सहज बनाउने र व्यवसायिक योजना बनाउन सघाउने तयारी गरेका छौं’ उनले भने । (अमृता अनमोलले लेखेको यो फिचर ईकान्तिपुर डटकममा प्रकाशित छ । )

Ads

सम्बन्धित पोष्टहरू