Ads

माओवादीमा आज नेतृत्व चयन हुने, यस्तो छ निर्वाचन कार्यक्रम


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रको आठौं दिन आज नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ । माओवादीको संशोधित विधानअनुसार खुल्लातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

शनिवारदेखि माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास जारी राखेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा क्लस्टर मिलाएर पूर्णता दिने तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
माओवादीले सकेसम्म सहमतिमा नै नेतृत्व चयन गर्ने प्रयास जारी राखेको एक स्थायी कमिटी सदस्य बताउछन् ।

ती स्थायी कमिटी सदस्यका अनुसार माओवादीमा नेतृत्व चयनको लागि चुनाव हुने सम्भावना न्यून छ । कथंकदाचित् भइहालेमा वा औपचारिकता पुरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्तो छ निर्वाचन समय तालिका

मनोनयन पत्र दर्ताको समय २ देखि २.३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३.४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४.१० सम्म, छानविन र निर्णय ४.३० बजेसम्म, उम्मेदवारको नामावली पुनःप्रकाशन ४.४० सम्म, उम्मेदवारको नाम फिर्ता ५.३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५.४५ बजेसम्म तोकिएको छ ।

निर्वाचन नै हुने भएमा मतदान ६.२५ देखि राति १०ं.२५ बजेसम्म गर्ने कार्यक्रम छ ।

केन्द्रीय सदस्यका आकांक्षी धेरै

खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुल्लातर्फ १४५ जना निर्वाचित हुने छन् ।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा–छुट्टै निर्वाचन हुनेछ ।

माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू