काठमाडौं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।
रिक्त हुन लागेको १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।
जसमा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट खाली हुँदैछ । उक्त सिट सोही पाटीलाई छोडेर एमालेका ८ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा गरिएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्