Ads

सिरहामा कांग्रेस सभापति धम्काएको आरोपमा एसपी पाण्डे निलम्बित


काठमाडौं । नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई घरमै गएर धम्काएको आरोप लागेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको बताइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयले हालै सिरहा प्रमुखबाट हेडक्वाटर तानेको थियो ।

उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरले बताए ।

केहि दिन पहिले पाण्डेले राति सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवको घरमा गएर गोली हान्ने धम्की दिएको आरोप लागेको छ। त्यो आरोप कति सत्य हो होइन भन्ने यकिन छैन।

प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका एसपीले पाण्डेलाई राति घरबाट लगेको यादवले दाबी गरेका छन्। यो विषयमा पनि छानबिन भइरहेको कुँवरले बताए।

पाण्डेको सरूवा शान्ति सुरक्षासँग मात्र जोडिएको भने छैन। पाण्डे र यादवबीच लामो समयदेखि ‘टकराव’ चलिरहेको थियो र यादवले पाण्डेलाई सरूवाको धम्की पनि दिएको बताइएको छ । यही सिलसिलामा पाण्डेको सरूवा भएसंगै निलम्बनमा परेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू