काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालसँगै समुहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् । एएफसीले छनोट चरणको ड्र आज (बिहीबार) भर्चुअल माध्यमबाट गरेको थियो । किर्गिस्तानमा हुने सबै छनोटका खेल आगामी अप्रिल १० देखि १२ सम्म हुनेछ । छनोट अघि नै ३२ खेलाडीलाई नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणमा बोलाएका छन् । प्रशिक्षक बस्नेतले असोज दुईदेखि २२ गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् । नेपालको बन्द प्रशिक्षण भोलि (शुक्रबार) देखि काठमाडौंमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्