काठमाडौं । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीलाई भेट्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।
प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास बालकोट जाने भएका हुन् । ओलीलाई भेट्न देउवा बालकोट जाने भएका एक सहभागी नेताले जानकारी दिए । ती नेताका अनुसार आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग सम्वाद गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ ।
बुधबार कांग्रेसका नेता रामचन्द्र पौडेलले ओलीलाई भेटेका थिए । पौडेलसँगको भेटमा ओलीले प्रधानमन्त्री देउवासँग संवाद गर्न चाहेको आशय व्यक्त गरेका थिए ।
आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै २३ भदौदेखि एमालेले संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्