काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने माग गरेका छन् ।
थारू विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरसंवादमा महरले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको जोखिमबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।
१८ वर्षमुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन नसकेको र छिमेकी मुलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएसंगै नेपालमा समेत उच्च जोखिम रहेको भन्दै यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने उनको माग छ । नेता महरले सम्बन्धित निकायसँगको परामर्शका आधारमा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागी स्वास्थ्य सावधानी अपनाउदै सबैको पहुँच हुने गरी खोप उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने नेता महरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्