काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज(मंगलबार) दोस्रो दिन चार खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलबाट नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा पुलिसले नेपाल आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हो । आर्मीले दिएको १ सय रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कर्णाली प्रदेशले यस प्रतियोगितामा पहिलो जित निकालेको छ । कर्णालीले प्रदेश १ लाई ३१ रनले पराजित गरेको हो । कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ दशमलव ५ ओभरमा ८९ रनमा समेटिएको थियो ।
त्यस्तै टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जितको सफलता पाएको छ । बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित दर्ता गरेको हो । जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको अन्तिम खेलमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको उक्त खेलमा १ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको हो ।
प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं १, आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा प्रदेश नं २, शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्