काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कंचनपुरस्थित मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन् । विमास्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले बुधबार शिलान्यास गरेका हुन् ।
शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ । मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन् ।
नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ ।
विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ। २०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो ।
विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । त्यतिबेला सातामा एक पटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्