काठमाडौँ । कोरोना भाईरसको संक्रमणदर तिव्ररुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई उच्च सावधानी अपनाउन निर्देशन दिएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामकदर भने उच्चरुपमा बढ्ने बताइएको छ । अहिले गरिरहेको अणुवांशिक अध्ययन(जीन सिक्वेन्सिङ) ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको र यो भेरियन्ट अरु भेरियन्टका तुलनामा कम जटिल भएपनि सक्रामक हिसावमा छिटो फैलने भएकाले संक्रमितको अनुपात बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रका अनुसार ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्दछ । अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा संक्रमण हुने गरेकोमा ओमिक्रोनले भने माथिल्लो श्वासनलीमा संक्रमण गर्ने मिश्रको भनाई छ । पछिल्लो एक हप्तामा विश्वभर एक करोडमा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी तिव्रगतिमा फैलिएको संक्रमण ओमिक्रोन भएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।
घाँटी चिलाउने, अप्ठ्यारो महसुस हुने, बढी हाछिउँ आउने, सामान्य ज्वरो आउने, रुघा लाग्ने र श्वासप्रश्वासमा समस्या देखीने ओमिक्रोनको लक्षण भएको अध्ययनले बताएको छ ।
कोरोना खोप लगाएका र नलगाएका दुवैलाई ओमिक्रोनको संक्रमण हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सुरक्षित रही स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्