काठमाडौँ । नोबेल मेडिकल कलेजका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय मोरङमा आज(बुधबार) धर्ना दिएका छन् । एमबीबीएसमा भर्ना भएका अतिरिक्त शुल्क नबुझाउने नयाँ विद्यार्थीले पढ्न पाउने माग गर्दै धर्ना दिएका हुन् ।
विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन संघर्ष अभियानलाई सहयोग समेत गरेका छन् । विगत केहि दिनदेखी आन्दोलित विद्यार्थीहरू नोबेल मेडिकल कलेजमा रिले अनशन बसेका छन् भने जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदै आज कलेज प्रशासनमा ताला समेत लगाएका छन् ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई पठनपाठनमा रोक लगाएको भए कानुनी कारबाही गर्न पत्राचार पनि गरिसकेको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि पिडित विद्यार्थीहरूले आन्दोलनलाई निरन्तरता दिएको बताएको छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी र कलेज प्रशासनबीच विद्यार्थीको समस्या समाधानका लागि छलफल भएको थियो । कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले कलेज प्रशासन विद्यार्थीको समस्याप्रति गम्भीर रहेको र चाडै यो समस्याको समाधान गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्