काठमाडौँ । कोरोनाको तेस्रो लहर सुरुभए संगै खोप लगाउने कार्य तिव्र बनेको छ । कोरोना र ओमिक्रोनको संक्रमण बढ्दै गएपछि कोरोना विरुद्धको खोप कार्यक्रमलाई तिव्र पारिएको हो ।
चितवन जिल्लामा पनि खोप लगाउने कार्यक्रम संचालन भैरहेको छ । तर त्यहा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायले खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले कोभिड खोपमा खासै चासो दिएका छैनन् । जिल्लाका ७ वटा पालिकामध्ये ६ पालिकामा चेपाङ्ग समुदायको बसोबास रहेको छ ।
विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३ सय ९९ चेपाङको बसोबास छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् । चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङले कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको बताएका छन् । कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको छ । उनका अनुसार कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह समेत गरिएको छ ।
चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलेका कारण खोप लगाउनका लागी समस्या रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५ सय ४४ ले खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्