काठमाडौँ । शुक्रबारदेखि दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले सुनौलो रंगमा टकमरी गरिएको दुई रुपैयाँको सिक्का चलनचल्तीमा ल्याएको हो ।
राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको हो । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो ।
उक्त सिक्कामा साल २०७७ लेखिएको छ । आज सूचना जारी गर्दै बैँकले दुइ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याइएको जानकारी दिएको हो । अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको राष्ट्र बैँकले जनाएको छ ।
सात प्रदेशसहितको नेपालको नक्सा सिक्काको बीच भागमा रहेको छ । नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला समेत रहेका छन् । सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र छ । वृत्ताकार चित्रको वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति छन् ।
प्रतिक्रिया दिनुहोस्