काठमाडौँ । नेपाल सरकारले आइतबार अफगानिस्तानमा सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहित नेपाली टोली काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई मानविय सहायता सामग्री नेपालले सहयोग गरेको हो ।
आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।
नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फर्कने बताइएको छ ।
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएका छन् । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्