काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो ।
रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पताल नजिक रहेको विद्युत्को ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा तीन महिना ढिलाइ भएको उनले बताए । प्लान्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको डा श्रेष्ठले भने, । “अहिले जति आवश्यक हुन्छ, त्यतिमात्रै अक्सिजन उत्पादन भइरहेको छ”, । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका बेला अक्सिजन नपाएर समस्या भइरहेका अवस्थामा सङ्घीय सरकारले केन्द्रमा प्लान्ट जडानका लागि रकम विनियोजन गरेको थियो । “त्यसबेला अक्सिजन हाहाकार हुँदा बिरामीलाई निकै सास्ती भएको थियो, अब अस्पतालमै अक्सिजन उत्पादन भएपछि सहज हुन्छ”, उनले भने, ।
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आइसकेकाले अब हुने सङ्क्रमितको उपचारमा यसले सहयोग पु¥याउने डा श्रेष्ठले बताए ।तनहुँका स्थानीय तहले संयुक्तरुपमा लगानी गरेर उपचार केन्द्रमा आइसोलेसन भवन निर्माण गरिदिएका छन् ।
ओमिक्रोन भेरियन्टको जोखिम बढेसँगै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको छ । उक्त आइसोलेसन लामो समयदेखि खाली छ । तीस शय्याको आइसोलेसनमा प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच शय्या सघन उपचार कक्ष र तीन शय्यामा भेन्टिलेटरको व्यवस्था गरिएको छ ।
आइसोलेसनमा पहिलो चरणमा २७७ र दोस्रो चरणमा २२२ सङ्क्रमितले सेवा लिएको बताइएको छ ।
– रासस
प्रतिक्रिया दिनुहोस्