काठमाडौं । नेकपा (एमाले)को रौतहट जिल्ला अधिवेशनबाट स्थायी कमिटी सदस्य प्रभु साहले एकलौटी रुपमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विरोध गरेको छ ।
साह पक्षले पूर्व माओवादी त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले विरोध गरेको छ ।
प्रभु साह पक्षले एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरेको छ ।
तर, गिरिले अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी घोषणा गरेकाले आफूहरु नस्वीकार्ने बताएका छन् । गिरी पक्षले सोमबार गरुडा पार्टी कार्यलयमा आफू पक्षको भेला बोलाएका छन् । उनले भनेका छन् ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्