काठमाडौं । प्रदेश नम्बर २ को राजधानीका लागि प्रदेश सभामा गोप्य मतदान शुरु भएको छ ।
प्रदेश नं. २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत प्रदेश सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ । तर दुबै नाममा सहमति हुन नसकेपछि मतदानबाट राजधानी बनाउने प्रस्तावमा निर्वाचन सुरु भएको छ ।
जनकपुरमा सबै दलको सहमति भएपनि केहि सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक मत राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको अध्ययन विशेष समितिका सभापति परमेश्वर साहले जानकारी दिएका छन् । बारा–पर्साका सांसदहरुले राजधानी वीरगञ्ज हुनुपर्ने छुट्टै प्रस्ताव गरेका छन् ।
साहले प्रदेश सभामा बोल्दै भनेका छन्, ‘राजधानी जनकपुरलाई बनाउने सबै दलको प्रस्ताव हो । र सर्वसहमति जस्तै छ ।’
तर प्रदेश सभामा बोल्दै सांसद रमेशप्रसाद कुरुङले विरगञ्जकै आन्दोलनले मधेश आन्दोलन भएको भन्दै विरगञ्जलाई राजधानी बनाइनुपर्ने बताएका थिए ।
प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए कुनै निर्णय हुने छैन । दुई तिहाइको लागि ७० जना सांसद चाहिन्छन् । हाल प्रदेश सभामा १०४ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्