जनकपुर । मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको नाम मधेस र राजधानी जनकपुर भएको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ। सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो। विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ।
प्रतिक्रिया दिनुहोस्