काठमाडौं । पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । आज(बुधबार) भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ विजेता बनेको हो ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाएको थियो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ भने उप–विजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०÷५० हजार पाएका छन् ।
विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले सम्मान तथा पुरस्कृत गरेका हुन् ।
एकदिवसीय फर्म्याटमा हुँदै आएको पीएम कप ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै टी–ट्वान्टी फर्म्याटमा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ शेख उत्कृष्ट खेलाडी बनेका च्याम्पियन टोली एपीएफ क्लबका ओपनर शेखले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २ सय २७ रन बनाएका थिए । प्रतियोगितामा सर्वाधिक १४ छक्का प्रहार गरेका आसिफले उत्कृष्ट खेलाडी वापत ३० हजार नगद प्राप्त गरेका छन् ।
यस प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्