Ads

धमाधम क्यासिनोको लाइसेन्स बाँड्दै पर्यटनमन्त्री आले


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गरीरहेका छन्। पछिल्लो समयमा पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स दिएको छ ।

नेपालमा क्यासिनोको संख्या १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागकाअनुसार चालु आर्थिक वर्षमा जारी भएका ६ वटा क्यसिनोले लाइसेन्स पाएको छ । जसमा ५ वटा आले मन्त्री भएपछि दिएका छन् ।

आलेले सहजै रुपमा लाइसेन्स वितरण गरेको आरोप लागेको छ । केही हप्ताभित्रै अन्य केही क्यासिनोले पनि लाइसेन्स पाउने मन्त्रालयका कर्मचारी बताउछन् ।

क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ ।

नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

मन्त्री आलेले २ कार्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिएका छन् । यो क्यासिनो बलराम सापकोटा ‘बले’ को लगानी रहेको बताइन्छ ।

सापकोटा र उनकी श्रीमति विरुद्ध १९ असोज, २०७७ मा सम्पत्ति शुद्धीकरण विभागले १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। जुन अझै विशेष अदालतमा विचाराधीन छ ।

मन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका छन् । उनले करिब २ महिनाको अवधिमा १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गरेका हुन् ।

गत ९ कार्तिकमा मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको छ ।

गत १२ कार्तिक २०७८मा फेरि नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स दिएका छन्। १४ पुस २०७८मा नेपालगञ्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टले पनि क्यासिनोको लाइसेन्स पायो ।

१६ पुस २०७८ मा नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पायो ।

प्रधानमन्त्री शेरबहादुर देउबाले पर्यटन मन्त्रालय सम्हालेको बेला असोज १६ गते मन्त्रालयबाट भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो ।

मन्त्रालयले काठमाडौंको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । जथाभवी इजाजतपत्र बाँड्न थालेपछि भविष्यमा रोयल्टी नउठ्ने समस्या झन बढ्ने विभागका अधिकारीहरुको चिन्ता छ ।

पर्यटक विभागका प्रवक्ता मोहनबहादुर जिसी क्यासिनोको अनुमतिपत्रका सम्बन्धमा मन्त्रालय स्तरबाट निणर्ययहरु हुने गरेको बताउँछन् । उनका अनुसार मन्त्रालयले निर्णय भएको जानकारी विभागमा पठाउँछ । मन्त्रालयले भने क्यासिनोसम्बद्ध सबै निर्णयहरु कानुन, विधि, प्रक्रिया र औचित्यअनुसार नै हुने गरेको दावी गर्दै आएको छ ।

अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरेपनि सर्वोच्च अदालतको अन्तिरिम आदेश देखाएर चलिरहेका छन् । २ वटा क्यासिनो बन्द भइसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू