Ads

शहीद दिवस : शहीद परिवारलाई थपिन्छ पीडा


काठमाडौँ । सविना पौडेल

देश र जनाताका लागि ज्यानको बलिदान दिने शहीदहरूको सम्झनामा हरेक वर्षको माघ १६ गते शहीद दिवस मनाइन्छ । तर देशले शहीद दिवस मनाईरहँदा शहीद परिवारको अवस्थालाई बुझ्न नसकेको शहीद परिवारको गुनासो छ ।

२०६२।६३ को जनआन्दोलनमा आफ्नै अघि श्रीमान गुमाएकी शहीद प्रद्युन्न खड्काकी श्रीमती प्रभा खड्काले अहिलेसम्म पनि त्यस पिडालाई भुल्न सकेकी छैनन् । ३१ वर्षको उमेरमै ज्यान गुमाएका शहीद प्रद्युन्न खड्काको परिवारलाई प्रत्येक वर्ष शहीद दिवस मनाईरहदा मनमा बेचैन हुने गरेको छ ।

“२०६३ साल बैशाख ७ गतेको आन्दोलनमा जानु अघि उहाँले खाना खान आउ भन्दा पनि संगै खाना खान पाईन ।” उनले भाबुक हुँदै भनिन् । “शहीदको सपना पुरा नभएको देख्दा मैले त्यसदिन उहाँलाई रोकेको भए हुन्थ्यो भन्ने कुराले अहिले पनि ग्लानी भैरहन्छ ।” एकातिर श्रीमानलाई गुमाउनुको पिडा अर्कातिर राज्यले शहीदका सपना पुरा गर्ने प्रतिवद्धता, औपचारिकतामा मात्र सिमित भएको देख्दा शहीद दिवसले घरिघरि शहीद परिवारलाई खुसी भन्दा पनि पीडा थपिदिएको छ ।

राज्यमा शान्ति सु–व्यवस्था ल्याउनका लागि ज्यानको आहुति  दिएपनि सत्ताकै लागि दलहरुवीचको खिचातानिका कारण शहीद प्रद्युन्नका परिवार अहिले सम्मपनि निराश देखिन्छन् । “पहिले राष्ट्रका लागि ज्यान दिएको भन्न पाउदा गर्व लाग्थ्यो तर अहिले स–साना राजनैतिकदलका विबादमा ज्यान गुमाउनेलाई पनि शहीद घोषणा गरेको देख्दा देश र जनताका लागि बलिदान दिएका शहीदको कुनै मूल्य नभएको जस्तो लाग्छ ।” श्रीमानलाई सम्झेर भक्कानिदै उनले भनिन् । धेरै पटक गुनासो गरेपनि आफ्नो पार्टीका कार्यकर्ताको मृत्युलाई शहिद घोषणा गर्ने, सत्ताकै लागि विवाद गरिरहने, शहीद परिवारको वेवास्ता गर्नाले शहीद दिवस मनाउनुको कुनै तुक नरहेको र राज्यले वास्तविक शहीदको अवमुल्यांकन गरेको भन्दै उनले गुनासो गरेकी छन् ।

राज्यले आफ्नो अभिभावकको त्याग र शहीद परिवारको दुःखलाई बुझ्न नसकेको शहिद पुत्र प्रज्वल खड्काको भनाई छ । उनले भने, “सानै उमेरमा बुवा गुमाएपनि ठूलो हुँदै जाँदा राष्ट्रका लागि हो भन्ने बुझेर गर्व गरेको थिएँ, तर अहिले देशको अवस्था देख्दा शहीदहरुको सपनाप्रति चासो नदिएको जस्तो लाग्छ, राज्यले मनाउने शहीद दिवस औपचारिकताका लागि मात्रै हो भन्ने लागिरहेको छ ।”

शहीद घोषणा गरिएको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको थियो । उक्त निर्णय पछि शहीद परिवारले राज्यबाट १० लाख रुपैयाँ प्राप्त गरेका छन् भने मासिक सात हजार रुपैयाँ पाएका छन् । पछिल्लो समय राज्यबाट दिइने त्यहि सेवा सुविधाको मोहमा परेर स–साना घटनामा मारिनेहरुलाई पनि शहीद घोषणाको माग बढेको हो की भन्ने प्रश्न उठ्नु र वास्तविक शहिद परिवारमा निराशा थपिनु स्वभाविक हो ।

देशको परिवर्तनका लागि आफ्नो जिउज्यान बलिदानी दिने ज्ञात अज्ञात सहितहरुप्रति उच्च सम्मानभाव राख्दै राज्यले माघ १६ लाई विशेष दिनका रुपमा मनाउँदै आएको छ । यसै अवसरमा विगतका वर्षहरुमा साताव्यापी कार्यक्रम गर्दै आएको सरकारले यस वर्ष भने कोरोना भाईरसका कारण साता व्यापी कार्यक्रम नगरेपनि आज देशभर विविध कार्यक्रमको आयोजना भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू