Ads

लघुकथा : शालिक


लघुकथा : शालिक

रुद्र ज्ञवाली
केही वर्ष पहिलेसम्म त छोराको शालिकमा माला लगाउने दिन झण्डा हालेको गाडीमा आउने मान्छेले उनलाई पनि माला लगाई दिन्थे । तर धेरै वर्ष भयो । झण्ढावाला गाडी चढ्नेहरूले उनलाई बिर्से ।
उनलाई मात्र होइन, क्यालेण्डरले नसम्झाइ दिने हो भने उनीहरूले त्यो शालिकलाई पनि बिर्सिने थिए ।
छोराको शालिकमा अबिर छर्ने दिन उनी पनि सकी नसकी त्यहाँ जान्छन् र फूलसँगै केही थोपा आँसु शालिकमा चढाएर फर्किन्छन् । जीवित छँदासम्म शालिककी आमा पनि यसै गर्थिन् ।
आज पनि उनी अर्थात शालिकका बा छोरा भेट्न गए । बुढो शरिर र माघको चिसो बिहान । थर्थराउँदै शालिक भएको ठाउँमा पुगे ।
उनी त्यहाँ पुग्दा केही बर्दीधारीहरुले शालिकको धूलो पुछ्दै थिए । उनले शालिकमा फूल चढाउन खोज्दा बर्दीधारीले रोके । रोके मात्र होइन नजिक पर्ने दिएनन् ।
शालिकका बा अलि पर गएर टुक्रुक्क बसे । यत्तिकैमा एउटा झण्डावाला गाडी शालिक नजिकै रोकियो । बन्दुकले गाडीको ढोका खोल्यो । केही थान बन्दुकले झण्डावालालाई सैल्युट गरे ।
झण्डावाला शालिकको नजिकै गयो र शालिकको गलामा माला लगाई दियो । रातो अबिर शालिकको अनुहारभरि छर्‌यो ।
झण्डावालाले शालिकमा माला चढाउँदै गर्दा शालिकका बाको माथिङ्गलमा दुइदशक पहिलेको घटना स्मरण भयो । ठ्याक्कै उस्तै कठोर अनुहार र उस्तैै हात जुन हातले त्यतिबेला उनको छोराको निधारमा पेस्तोल दागेको थियो । उस्तै रातो रङ । फरक केही थियो भने पहिलेको रातो रङ रगतको थियो र अहिले अबिरको । पहिले रगतको रातोमा लथपथ उनको छोरो छटपटिँदै प्राण त्याग गरेको थियो भने अहिले उसको यो शालिक प्रतिक्रियाहीन थियो ।
Ads

सम्बन्धित पोष्टहरू