खबरपोस्ट समाचारदाता
काठमाडौं । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगति भएको छ ।
माघ १७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाकाअनुसार विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “विशेष कारबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभए सम्मका लागि उक्त बैठक स्थगित गरिएको छ ।
यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिनपछि सारिएको थियो ।
दुबै सदनका बैठक एकाएक स्थगित गरिएका बारेमा बिश्लेषकहरुले केही अनुमान गरेका छन् । उनीहरुका भनाईमा एमसीसी एक प्रमुख कारण हो ।
गठबन्धनका केही नेताहरुले यस्तो आशंकालाई पुष्टि पनि गरेका छन् ।
उनीहरुका अनुसार शनिबार अपरान्ह स्थानीय निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा पनि छलफल भएको थियो ।
जुन बैठकमा प्रधानमन्त्री देउवाले आइतबार बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता अघि बढाउने चाहना चुहाएका थिए ।
उनले माघ १८ गतेसम्म अनुमोदन गर्नुपर्ने भन्दै गठबन्धनका दलहरुलाई संकेत गरेका थिए ।
श्रोतका अनुसार गठबन्धनमा सहभागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सभामुख अग्नि सापकोटालाई यसबारे प्रभावित पारेका हुन् ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रतिनिधिसभाको बैठक सार्न लगाइएको सञ्चारमाध्ययमहरुसंग स्विकार गरेका छन् ।
उनकै नेतृत्वमा गठबन्धनले एमसीसीबारे अध्ययन समिति बनाएको छ । जसमा सञ्चार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् ।
तर उक्त समितिले साझा धारणा बनाउन सकेको छैन् ।
अमेरिकाले एमसीसीबारे चाँडो निर्णय गर्न दवाव दिइरहेको भनिएको बेला पछिल्ला राजनैतिक घटनाक्रमहरुले अब एमसीसीको मुद्धा चर्किने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्