Ads

स्वास्थ्यचौकीका लागि आएको ३० लाख बजेट मुख्यमन्त्रीको घर जोगाउन खर्च


हुम्ला । स्थानीय स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन आएको ३० लाख बजेटबाट कर्णालीका मुख्यमन्त्री (त्यतिखेर भइसकेका थिएनन्) जीवनबहादुर शाहीले आफ्नै घरछेउमा ग्याभिन जाली लगाएका छन् । त्यसका लागि उनले आफ्नै भाइबुहारीलाई कार्यविधिविपरीत उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए ।

हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ खर्पेलस्थित स्वास्थ्यचौकीको ठीक माथि शाहीको घर छ । उनकै पहलमा पारिखोला बस्ती र स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रमको रकम आएको थियो । तर, बजेट आफ्नै घरको सुरक्षामा खर्च गरे । आफ्नो घर हुँदै स्वास्थ्यचौकीमा पहिरो बग्ने भएकाले माथि नै ग्याभिन जाली लगाएको स्पष्टीकरण शाहीले दिएका छन् ।

पूर्वाधार निर्माणका आयोजनामा खर्चने गरी कर्णाली सरकारले गत आर्थिक वर्षको बजेटमार्फत प्रदेश पूर्वाधार विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो । सो रकम प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको सहकार्यमा उपभोक्ता समितिमार्फत खर्चने कार्यविधि छ । तर, शाहीले ०७७ पुसमा आफ्नै भाइबुहारी मधु शाहीको अध्यक्षतामा उपभोक्ता समिति बनाई बजेट निकासा गराएर आफ्नै घर सुरक्षित गरेका हुन् ।

मुख्यमन्त्री शाहीले बस्ती नै जोखिममा रहेकाले आफ्नो घरछेउमा ग्याभिन जाली लगाएर स्वास्थ्यचौकीसमेत जोगाएको दाबी गरे । ‘मेरो घरभन्दा मुनि स्वास्थ्यचौकी छ । नजिकै खोला छ । तलबाट भत्कन लागेपछि स्वास्थ्यचौकी जोगाउन मेरो घरमा ग्याभिन जाली हालिएको हो,’ उनले भने । -यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

Ads

सम्बन्धित पोष्टहरू