Ads

सुरक्षा बैठकमा निर्वाचन केन्द्रित योजनाबारे छलफल


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।

बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको छ। निर्वाचन केन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो।’

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।

Ads

सम्बन्धित पोष्टहरू