Ads

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा सम्बन्धमा दरार


टीकापुर । कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलै उमेरमा विवाह गरेकी उनका श्रीमान् जागिरे छन् । उनले भनिन्, ‘तीन सन्तानकी आमा हुँदासम्म श्रीमानबाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैँ घरको नोकरजस्तै सोँचिरहनुभयो । राम्रो बोलीबचनसम्म गर्नुभएन । सन्तान नहुर्कुञ्जेल श्रीमानका सबै व्यवहार सहेर बसेँ ।’

सन्तान हुर्किसकेपछि उनलाई श्रीमानले गर्ने दुव्र्यवहारविरुद्ध आवाज उठाउन मन लाग्यो । साथै वैवाहिक जीवनको २३ वर्षपछि उनी अलग हुने निर्णयमा पुगिन । ‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिनुभएन । खानलाउन दिनुभयो, धन सम्पत्ति पनि दिनुभयो तर इज्जत दिनुभएन ,’ उनले भनिन्, ‘दम्पती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैँ मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर श्रीमानले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने । उहाँ अरु केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन । मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय ग¥यौँ ।’

सम्बन्धविच्छेदपछि हाल रुपा सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छिन् । उनी आजभोलि सामाजिक जीवनमा सक्रिय छिन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गछिन् ।

कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार पटक्कै मन पर्दैन । उनका श्रीमानले जीवनसाथीको जस्तो व्यवहार गरुन् भन्ने चाहन्छिन्। प्रेम विवाह गरेकी उनले सुरुआती दिनमा श्रीमानबाट साथीजस्तै व्यवहार पाउनुभयो । विवाहपछि व्यवहार बदलियो । ‘‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो’, उनी भन्छिन् , ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकीरहिछ भनी कुरा काटे ।’

परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो प¥यो । उनले बोलीचनमा सुधार गरीन । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गर्न थालिन् तर उनका श्रीमानले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान ‘तँ’ भनी सम्बोधन गर्न थाले। ‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियतसमेत बदलियो , ’ उनले भनिन् ।

दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । ‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसा गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ,’ शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पतीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’

बलियो र दिगो सम्बन्धका लागि श्रीमतीले श्रीमानलाई साथ दिन्छन्, यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम चलिरहँदा समाजमा महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउछन् ।

‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ’, उनले भनिन् , ‘‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको सङ्ख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’

अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्धविच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउछन् । ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्धविच्छेदका भएका छन् । सम्बन्धविच्छेदले परिवार विखण्डन भएको छ’, उनले भने , ‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्बाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।’

पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरूपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको उनले बताए । ‘‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ”, उहाँ भन्नुहुन्छ, “समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।

Ads

सम्बन्धित पोष्टहरू